
बिर्तामोड, १७ साउन । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आगलागीबाट प्रभावित आफ्ना शेयर सदस्यलाई राहत सामग्री उपलब्ध गराएको छ।
बिर्तामोड नगरपालिका–५ डाँडागाउँमा बिहीबार बिहान भएको आगलागीबाट प्रभावित तीन जना शेयर सदस्यलाई संस्थाले शनिबार घरमै पुगेर राहत प्रदान गरेको हो।
पीडित परिवारको दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए।
संस्थाको इमरजेन्सी रेस्पोन्स सेन्टर ९ईआरसी० अन्तर्गत सन्तोषी सहारा महिला समूह नं। ३१६ का शेयर सदस्यहरू कृष्णकुमारी ढकाल, बिजुलीसरी राजवंशी र तारा राजवंशीलाई राहत उपलब्ध गराइएको बिर्तामोड अनुगमन अधिकृत घनश्याम रायले बताए।
आपत्–विपद्को समयमा गरिब तथा विपन्न परिवारले आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले ईआरसीमार्फत सदस्यहरूलाई सहयोग गर्दै आएको रायले बताए।
संस्थाले तत्कालीन राहत प्याकेजअन्तर्गत चामल, दाल, तेल, ब्ल्याङ्केट, मेट्रेस, त्रिपाल, झुल, भाँडाकुँडाको सेट, राइस कुकर तथा प्राथमिक उपचार सामग्री उपलब्ध गराएको बिर्तामोड शाखा प्रमुख सागर ओझाले जानकारी दिए।
सहारा नेपाल साकोस विपद् व्यवस्थापन उपसमितिका संयोजक हेमराज खड्काले विपद्को समयमा सदस्यहरूको साथमा उभिनु सहकारीको सामाजिक उत्तरदायित्व भएको बताए।
राहत प्राप्त गरेपछि पीडित परिवारले कठिन अवस्थामा सहयोग गरेको भन्दै सहकारी संस्था र सहयोगीप्रति आभार व्यक्त गरेका छन्। राहत हस्तान्तरण कार्यक्रममा कर्मचारी दुर्गाप्रसाद विक गहतराजलगायतको उपस्थिति रहेको थियो।
सहकारीले आगामी दिनमा पनि सदस्यहरूको सुख–दुःखमा साथ दिँदै आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यसैबीच, बिर्तामोड–५ डाँडागाउँस्थित सुकुम्बासी बस्तीमा भएको उक्त आगलागी विद्युत् सर्ट भएर भएको हुनसक्ने प्रहरीले जनाएको छ। आगलागीबाट करिब ६० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।


