
इलाम, १७ साउन । एचकेआर प्रोडक्सन हाउसको आयोजनामा शनिबार दुई नयाँ म्युजिक भिडियोको औपचारिक विमोचन गरिएको छ। कार्यक्रममा ‘तिर्खाले खोली धाएको’ र ‘यो आँखाले’ बोलका दुई गीतका म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
विमोचन गरिएको ‘तिर्खाले खोली धाएको’ बोलको गीतमार्फत अंकिता अधिकारीले अभिनय क्षेत्रमा डेब्यु गरेकी छन्। डी।पी। खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत तथा सोनिया गोङ्गा र सन्तोष राईको स्वर रहेको उक्त गीतको भिडियोमा अधिकारीले पहिलोपटक अभिनय गरेकी हुन्।
त्यस्तै, ‘यो आँखाले’ बोलको म्युजिक भिडियोमार्फत सिक्कुमा लिम्बूले पनि अभिनय यात्राको सुरुवात गरेकी छन्।
दुवै म्युजिक भिडियोमा चर्चित कलाकार मुकेश गुरुङको अभिनय रहेको छ। कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगरपालिका–९ का वडाध्यक्ष देवेन्द्र शर्माले दुवै म्युजिक भिडियोको औपचारिक विमोचन गरेका थिए।
विमोचन कार्यक्रममा स्थानीय कलाकार, संगीतकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। आयोजक ज्प्च् प्रोडक्सन हाउसका अनुसार दुवै म्युजिक भिडियो छिट्टै दुई फरक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।
निर्माण पक्षले भिडियो सार्वजनिक भएपछि हेरेर, शेयर गरेर तथा प्रतिक्रिया दिई कलाकार र निर्माण टोलीलाई हौसला प्रदान गर्न दर्शक तथा शुभेच्छुकहरूसँग आग्रह गरेको छ।


