
झापा, १७ साउन । झापाको कनकाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा खैरो हेरोइन र नियन्त्रित लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार कन्काई नगरपालिका–२ मा लागुऔषध खरिद–बिक्री भइरहेको सूचनाका आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा निवासी २७ वर्षीय अझर अन्सारी र २८ वर्षीय महमद अहवाल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १०२ ग्राम खैरो हेरोइन, ७ हजार २०० क्याप्सुल नियन्त्रित लागुऔषध ट्रामाडोल, ७ हजार ४५० ट्याब्लेट नाइट्राभेट तथा २ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको प्रहरीले जनाएको छ।


