
झापा, १७ साउन l कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ७ जना पक्राउ परेका छन्।
झापाको कनकाई नगरपालिका–२ मा इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले भारतको बिहार राज्य, अररियाका २८ वर्षीय मो. एजवाल र २७ वर्षीय अझर अन्सारीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १०२ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर, निटाजिन वर्गका ७ हजार ४५० ट्याब्लेट तथा ट्रामाडोल ७ हजार २०० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० आदर्श टोलबाट इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१ निवासी २७ वर्षीय मिका खत्री र २७ वर्षीया बन्दना माखिमलाई ट्रामाडोल १९ क्याप्सुल, डाइसाइक्लोमिन २८ ट्याब्लेट तथा नगद १३ हजार ७७५ रुपैयाँसहित पक्राउ गरेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ पानधारेचोकबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ निवासी २५ वर्षीय अनिश लामालाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
उता धनकुटाको चौबिसे गाउँपालिका–४ मा जिल्ला प्रहरी कार्यालय धनकुटाले ४८ वटा प्लास्टिकका बोरामा लुकाइराखिएको ८०४ किलो गाँजा बरामद गरेको छ। सो प्रकरणमा छथरजोरपाटी गाउँपालिका–४ घर भई चौबिसे–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरिप्रसाद ओझा र ३४ वर्षीय आशिष विश्वकर्मा पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।


