
झापा, १९ साउन । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीतिलाई संशोधन गर्दै ‘राष्ट्रिय यातायात नीति–२०८३’ कार्यान्वयनमा ल्याएको छ ।
पूर्वाधार विकास मन्त्रालयले जारी गरेको नयाँ नीतिले एकीकृत यातायात प्रणालीको विकासमार्फत दिगो, सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ । मन्त्रालयका अनुसार नीतिले सडक, रेल, जलमार्ग र हवाई यातायातबीच समन्वय गर्दै आधुनिक, सुरक्षित र प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सडक सुरक्षाको अभिवृद्धि, वातावरणमैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नयाँ नीतिको प्रमुख प्राथमिकता बनाइएको जानकारी दिनुभयो । सरकारले बदलिँदो प्रविधि, तीव्र सहरीकरण, जलवायु परिवर्तन तथा दिगो विकासका लक्ष्यलाई ध्यानमा राख्दै करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीतिलाई परिमार्जन गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।


