
सन्तोष शर्मा
झापा, २० साउन । झापामा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८२÷०८३ को एक वर्षको अवधिमा चार जना नेपाली र एक जना भारतीय गरी पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो ।
हात्तीको आक्रमणमा परी दमक–१ की सुनिता राई, बिर्तामोड–७ का जाउल हक आलम, बाह्रदशी–१ की लीलाकुमारी राजवंशी र मेचीनगर–४ का पदम पौडेलको मृत्यु भएको हो । त्यसैगरी मेचीनगर–४ बाहुनडाँगीमा एक जना भारतीय नागरिकको मृत्यु भएको सूचना अधिकारी पाठकले बताउनुभयो ।
तीन हात्तीको मृत्यु
यता जिल्लाका विभिन्न स्थानमा तीन वटा हात्ती मृत फेला परेका थिए । दुई वटा भाले र एक वटा पोथी हात्ती मृत फेला परेका हुन् ।
झापाको बुद्धशान्तिस्थित बुद्धशान्ति सामुदायिक वनमा ३५ वर्षको भाले हात्ती, कचनकवलस्थित दिपज्योती सामुदायिक वनमा ३५ वर्षको भाले हात्ती र मेचीनगर–१ स्थित देवीगञ्जमा १७ वर्षको पोथी हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।


