
झापा, २० साउन । पछिल्लो २४ घण्टामा देशका ५२ जिल्लामा भएका ६६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । घटनामा २० जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १८ गते बिहान १० बजेदेखि साउन १९ गते बिहान १० बजेसम्म बाढी, पहिरो, आगलागी, सर्पदंश, चट्याङ र वन्यजन्तु आक्रमणलगायतका घटना भएका हुन् । यस अवधिमा १०२ जनाको उद्धार गरिएको छ भने ३३० जना प्रहरी परिचालन गरिएको थियो ।
प्राधिकरणका अनुसार वैशाख १ देखि साउन १९ गतेसम्म देशभर चार हजार १५९ विपद्का घटनामा १९८ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २४६ जना घाइते भएका छन् । यस अवधिमा सबैभन्दा बढी आगलागी (१,०३४), सर्पदंश (७४५) र पहिरो (७२०) का घटना भएका छन् ।


