
झापा, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गरिब, सुकुमवासी तथा आम नागरिकको पक्षमा आवाज उठाउने जिम्मेवारी अब राप्रपाको काँधमा आएको बताउनुभएको छ।
शनिबार राप्रपा काठमाडौँ महानगरपालिका नगर समितिको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न राप्रपा बलियो बन्नुपर्नेमा जोड दिनुभयो।
उहाँले आगामी महाधिवेशनलाई राप्रपा मात्र नभई मुलुककै राजनीतिक भविष्यका लागि ‘कोशेढुङ्गा’ का रूपमा चित्रण गर्नुभयो।
“अहिले राप्रपाका सम्पूर्ण नेता तथा कार्यकर्ताको मुख्य लक्ष्य मंसिरमा हुने महाधिवेशन हो। यो महाधिवेशन राप्रपाका लागि मात्र नभई समग्र नेपाली राजनीतिको दिशा परिवर्तन गर्ने माध्यम बन्नेछ,” उहाँले भन्नुभयो।
राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेसँगै पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता तयारीमा केन्द्रित भएको उहाँले बताउनुभयो।
विगतका ठूला दलप्रति जनताको आक्रोश र नयाँ शक्तिप्रतिको आशाबीच वर्तमान राजनीतिक समीकरण निर्माण भए पनि छोटो समयमै मुलुकमा चरम निराशा छाएको अध्यक्ष लिङ्देनको भनाइ थियो।
“देशमा महँगीले सीमा नाघेको छ र बजारमा कृत्रिम अभाव व्याप्त छ, तर यसबारे बोल्ने कोही छैन,” उहाँले भन्नुभयो।
मुलुक विभिन्न समस्यामा फस्दै गएको र आम नागरिकमा निराशा बढिरहेको उल्लेख गर्दै उहाँले दैनिक ज्याला–मजदुरी गर्ने श्रमिकदेखि निजी क्षेत्रसम्म असुरक्षित र आतंकित महसुस गरिरहेको बताउनुभयो।
“मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूहमा फसेको छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा गरिब, सुकुमवासी र आम सर्वसाधारणका लागि उभिने जिम्मेवारी अब राप्रपाको काँधमा आएको छ।”
देशलाई विद्यमान संकटबाट निकाल्न राप्रपा नयाँ सोच र दृष्टिकोणका साथ जनतामाझ जानुको विकल्प नरहेको उहाँले बताउनुभयो।
स्थानीय तहमा भइरहेका अधिवेशनलाई महाधिवेशनको पूर्वतयारीसँगै संगठन सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा उपयोग गर्न उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।


