
झापा, २४ साउन । सिन्धुलीमा हाइस गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–५ छब्बिसमा मोरङबाट काठमाडौँतर्फ आउँदै गरेको बा।५ ख ५९८४ नम्बरको हाइस ब्रेक फेल भएर दुर्घटनामा परेको हो।
दुर्घटनामा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्।
रुवीको टाउको तथा अनुहारमा र समितको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
त्यस्तै, सुन्दरहरैँचा–१२ का २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्।
हाइसमा चालकसहित १४ जना सवार थिए। घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले हाइस चालक मोरङको बेलबारी नगरपालिका–३ का २५ वर्षीय उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


