
झापा, २४ साउन । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरीका अनुसार तेह्रथुम, सिन्धुपाल्चोक, इलाम, रसुवा र रुकुम पश्चिमका विभिन्न सडकखण्ड पहिरो तथा सडक कटानका कारण अवरुद्ध भएका हुन्।
तेह्रथुमस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार राति करिब १२ बजेको समयमा लालीगुँरास नगरपालिका–९ काडेस्थित पिङवा खोलानजिक सडकदेखि करिब ३०–३५ मिटर माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ। शनिबार चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेस्थित सडकखण्डमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
इलामको मेची राजमार्ग पनि लामो समयदेखि अवरुद्ध छ। गत असार २३ गतेदेखि इलाम नगरपालिका–९ मा वर्षाका कारण सडकमा हिलो जमेर सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, गत असार ३१ गते भोटेकोसी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्गमा सडक माथिबाट पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
साउन १ गते भोटेकोसी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा ईकु पहिरोबाट ढुंगा, माटो तथा लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, साउन १९ गते भोटेकोसी–२ लिपिङस्थित अरनिको राजमार्गमा सडक भासिएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा साउन ८ गते त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि साउन ६ गतेदेखि अवरुद्ध छ। उक्त सडकखण्डमा माथिबाट ढुंगा, माटो तथा लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण विभिन्न सडकखण्डमा पहिरो खस्ने, सडक भासिने तथा नदीले कटान गर्ने क्रम जारी रहेकाले यात्रुलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ।


