
झापा, २ भदौ । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा टोली गठन गरेको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले विभिन्न मागहरू राखेर आन्दोलनको घोषणा गरेका थिए । उनले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमासमेत विभिन्न मागहरू प्रस्तुत गरेका थिए । सोही सन्दर्भमा वार्ता गरी समस्या समाधानका लागि सहजीकरण गर्न नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन् ।


