
बाँके, २ भदौ । प्रहरीले बाँकेको कोहलपुरबाट भारी परिमाणको अवैध लागुऔषध अफिम र चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा रुकुमपूर्व सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर–६ का ६० वर्षीय टोपजङ्ग भन्ने टाइपसिंह गिरी रहेका छन् ।
विशेष टोलीले उनीहरूको साथबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेस बरामद गरेको छ। साथै, नापतौलका लागि प्रयोग गरिने १ थान डिजिटल तराजु, नगद रु ५ हजार र २ थान मोबाइलसमेत जफत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार अभियुक्तहरूलाई नियन्त्रणमा लिने क्रममा स्थिति अनुकूल बनाउन प्रहरीले एक राउण्ड हवाई फायरसमेत गर्नुपरेको थियो । पक्राउ परेका दुवै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


