
झापा, ९ भदौ । लामखुट्टेको टोकाइबाट सर्ने औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले तथा जापानिज इन्सेफलाइटिस लगायतका कीटजन्य रोगको जोखिम नेपालमा बढ्दै गएको छ । नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे पहिचान भइसकेका छन् । स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए ।
जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान र प्रजनन क्षेत्र विस्तार हुँदै जाँदा पछिल्लो समय उच्च हिमाली भेगसमेत कीटजन्य रोगको जोखिममा पर्न थालेको विभागले जनाएको छ । तापक्रम वृद्धि, वर्षाको स्वरूपमा आएको परिवर्तन तथा वातावरणीय अवस्थाले लामखुट्टेबाट सर्ने रोगको भौगोलिक विस्तारलाई थप चुनौतीपूर्ण बनाएको हो ।
किट रोग नियन्त्रण शाखाका प्रमुख डा. कर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा फैलिसकेको छ । जोखिम क्षेत्र विस्तार भइरहेकाले रोगको निगरानी तथा नियन्त्रणका गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।
कीटजन्य रोग नियन्त्रणका लागि सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी रोग पहिचान, निगरानी तथा नियन्त्रणसम्बन्धी काम भइरहेको विभागले जनाएको छ । स्वास्थ्य विज्ञहरूले लामखुट्टेको वृद्धि नियन्त्रण गर्न घर तथा वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्ने, व्यक्तिगत सुरक्षा अपनाउने तथा रोगका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा परीक्षण र उपचार गराउन सुझाव दिएका छन् ।
जलवायु परिवर्तनसँगै लामखुट्टेबाट सर्ने रोग नयाँ क्षेत्रमा समेत फैलिन सक्ने भएकाले स्थानीय तहदेखि केन्द्रसम्म रोग निगरानी, पूर्वतयारी र नियन्त्रणका कार्यक्रमलाई थप सुदृढ बनाउनुपर्ने विज्ञहरूको भनाइ छ ।


