
झापा, १५ भदौ । देशभर हाल साधारणतया बदली रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
रातिको समयमा कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भाग र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ । त्यसैगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।


