
खोटाङ, २२ भदौ । खोटाङमा भेटिएको द्वन्द्वकालीन विस्फोटक पदार्थ ‘नेपोलाइट’ नेपाली सेनाले डिस्पोज गरेको छ। जिल्ला सदरमुकामस्थित बेसक्याम्पमा आइतबार साँझ विस्फोटक पदार्थ भेटिएको थियो।
द्वन्द्वकालमा उक्त बेसक्याम्पमा सुरक्षा फौजको क्याम्प रहेको थियो। सोही समयमा राखिएको विस्फोटक पदार्थ स्थानीयले जमिन खन्ने क्रममा आइतबार साँझ फेला पारेका हुन्।
व्यक्तिको जग्गामा रहेको उक्त बेसक्याम्पमा सशस्त्र द्वन्द्वका बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौज राखिएको थियो। उक्त स्थानबाट क्याम्प सारिएको लामो समय भइसके पनि बेलाबेला विस्फोटक पदार्थ भेटिने गरेको छ।
आइतबार स्थानीयले फुटसल ग्राउन्डको पर्खाल निर्माणका लागि जमिन खन्ने क्रममा करिब दुई सय ग्रामको विस्फोटक पदार्थ ‘नेपोलाइट’ फेला पारेका थिए। रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीका अनुसार उक्त विस्फोटक पदार्थ सोमबार बिहान डिस्पोज गरिएको हो।
आइतबार साँझ विस्फोटक पदार्थ भेटिएपछि डिस्पोज गर्न समय अभाव भएकाले सोमबार बिहान करिब १०ः२० बजे नेपाली सेनाको माथिल्लो निकायको अनुमतिमा रणभीम गण, मुडे ब्यारेकको टोलीले डिस्पोज गरेको हो।
प्रमुख सेनानी कार्कीका अनुसार उक्त विस्फोटक पदार्थले करिब ५० मिटर वरिपरि क्षति पुर्याउन सक्ने भएकाले फेला परेको स्थानबाट करिब डेढ सय मिटर टाढा सुरक्षित स्थानमा लगेर डिस्पोज गरिएको थियो। विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा बेसक्याम्प आसपास ठूलो आवाज सुनिएको थियो।
उक्त स्थानबाट सुरक्षा क्याम्प सारिएको लामो समय भइसके पनि पटकपटक द्वन्द्वकालीन विस्फोटक पदार्थ भेटिने गरेको स्थानीयले बताएका छन्।


