
बिर्तामोड, २६ भदौ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि.ले भोटेकोशी बाढीपीडितलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
संस्थाले भदौ २५ गते स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत रसुवा भोटेकोशी खोलामा आएको बाढीका कारण भएको क्षति, राहत तथा पुःनस्थापनका लागि ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको हो । उक्त रकम सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताउनुभयो ।
उत्कृष्टलाई सम्मान
यता, संस्थाको १४ औं साधारणसभा अन्तरगत इकाइगत साधारणसभा सम्पन्न भएको छ । चार वटा इकाइमा भएको इकाइगत साधारणसभा भदौ २२ गतेदेखि शुरु भई भदौ २५ गते सम्पन्न भएको हो । संस्थाको अन्तिम माइन्युट प्रमाणीकरण भदौ ३१ गते संस्थाको सभाहलमा हुनेछ ।
इकाइगत साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट सदस्य, कक्षा–१२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा धुलाबारी सेवा केन्द्रकी बजार सहायक रीता पौडेललाई नगदसहित सम्मान गरेको छ भने संस्थाका कर्मचारीका छोराछोरीमध्ये कक्षा–१२ मा परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने अंशकुमार खतिवडालाई पनि सम्मान गरिएको छ ।
भदौ २२ गते भएको इकाइ १ (अर्जुनधारा, शनिश्चरे र खुदुनाबारी) अन्तरगत भएको इकाइगत साधारणसभामा शिक्षा बचततर्फ अंकित आचार्य, असल ऋणीतर्फ लीलादेवी बराल र आवधिक बचत भेषराज पनेरु सम्मानित हुनुभएको छ ।
भदौ २३ गते भएको इकाइ २ (लक्ष्मीपुर, दुर्गापुर, सुरुङ्गा) अन्तरगत भएको इकाइगत साधारणसभामा शिक्षा बचततर्फ दक्षता/शिक्षिता अधिकारी, असल ऋणीतर्फ राजकुमारी चौधरी दाहाल र आवधिक बचत तिलक बयलकोटी सम्मानित हुनुभएको छ ।
भदौ २४ गते भएको इकाइ ३ (धुलाबारी, धाइजन, बुद्धशान्ति ) अन्तरगत भएको इकाइगत साधारणसभामा शिक्षा बचततर्फ निक धिमाल, रोहन काफ्ले, असल ऋणीतर्फ भीममाया सुनुवार, बबिता कडरिया र आवधिक बचत सुवास किसान र नरीमाया गुरागाईं सम्मानित हुनुभएको छ ।
त्यस्तै, भदौ २५ गते इकाइ ४ ( बिर्तामोड, बुट्टाबारी, गरामनी, चारपाने, चैतुबारी , बाह्रदशी) अन्तरगत भएको इकाइगत साधारणसभामा शिक्षा बचततर्फ राशिका खतिवडा, राजज्ञा पौडेल, असल ऋणीतर्फ सावित्रा राजवंशी, निम राजवंशी र आवधिक बचत संगीताकुमारी थापा सम्मानित हुनुभएको छ ।
२५ करोड बचत संकलनको लक्ष्य
संस्थाका अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाको शेयर पुँजी ३ करोड ५१ लाख ७४ हजार १ सय, कोष हिसाब २ करोड ३७ लाख ५ हजार ४ सय, बचत संकलन २२ करोड ५१ लख २५ हजार ५४८, लगानीमा रहिरहेको रकम १७ करोड ६१ लाख ७८ हजार ३४४ रहेको जानकारी दिनुभयो ।
संस्थाले चालू आर्थिक वर्ष २०८३/०८४ मा बचत संकलन २५ करोड र ऋण लगानी २० करो ६० लाख ७५ हजार पु¥याउने र ६१२ जना सदस्य वृद्धि गर्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
इकाइगत सभामा लेखा समिति संयोजक सूर्यकुमार खतिवडाले लेखा समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उहाँले शेयर पूँजी र बचत संकलन अघिल्लो वर्षको तुलनमा वृद्धि हुँदै गएकाले संस्था थप मजबुद हुँदै गएको बताउनुभयो ।
आगामी दिनमा संस्थाले आफ्ना सदस्यहरूको आवश्यकता र अपेक्षालाई अझ नजिकबाट बुझ्दै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने, सदस्यहरूको आर्थिक क्षमता अभिवृद्धिमा सहयोग गर्ने, वित्तीय अनुशासनलाई अझ मजबुत बनाउने तथा सहकारीको मूल भावना र सिद्धान्तअनुरूप सेवा प्रवाहलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा ऋण उपसमिति संयोजक एवम् संस्थाका उपाध्यक्ष हेमराज मिश्रले संस्थाले ६९२ जना ऋणि सदस्यलाई १८ करोड ४७ लाख २५ हजार ९५६ रुपैयाँ ऋण लगानी गरेको जानकारी दिनुभयो । जसबाट २ करोड २६ लाख ५९ हजार ९६८ रुपैयाँ ब्याज आम्दानी भएको उहाँले बताउनुभयो ।
संस्थाका उपाध्यक्ष हेमराज मिश्रले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव युवराज निरौलाले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति सदस्य चिजा राई, तारादेवी गौतम, रुपा कोइराला, लक्ष्मीप्रसाद घिमिरे, अशोक गिरी, रोहित काफ्ले, लेखा समिति सदस्य लक्ष्मी देवान, याम खरेल, संस्थाका व्यवस्थापक तीर्थ तिम्सिना, कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।


