
सुधीर सापकोटा
इलाम, ३१ भदौ । कुनै समय नेपाल–भारत सीमा क्षेत्रको प्रमुख व्यापारिक नाका तथा इलामको ऐतिहासिक बजारका रूपमा परिचित गोर्खे बजार अहिले सुनसानप्रायः बनेको छ। व्यापारिक चहलपहल घट्दै गएसँगै ऐतिहासिक पहिचान बोकेको गोर्खे बजार क्रमशः जीर्ण र ओझेलमा पर्दै गएको छ।
सूर्योदय नगरपालिकाका कन्याम, फिक्कल, अन्तु लगायतका क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गए पनि ऐतिहासिक महत्त्व बोकेको गोर्खेले भने अपेक्षित गति लिन सकेको छैन। प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्व बोकेको गोर्खेको संरक्षण र पुनरुत्थानका लागि स्थानीय तह, प्रदेश सरकार तथा सरोकारवालाबीच ठोस पहल आवश्यक देखिएको छ।
यसै सन्दर्भमा स्थानीय भीम खापुङले हालै प्रदेश प्रमुख पर्शुराम खापुङसँग भेट गरी गोर्खेको विगतको गौरव र भविष्यको सम्भावनाबारे आफ्नो परिकल्पना प्रस्तुत गर्नुभएको छ। उहाँले गोर्खेको लामो समयदेखिको सुनसान अवस्थालाई अन्त्य गरी पुरानै शैलीमा व्यापारिक तथा सांस्कृतिक गतिविधिले भरिपूर्ण बनाउनुपर्नेमा जोड दिनुभएको छ।
खापुङको भनाइमा, “हाम्रो भविष्य फेर्नुपर्छ, गोर्खेको सधैंको यो सुनसान अवस्था अन्त्य हुनुपर्छ। पहिलेकै जस्तै व्यापारिक र सांस्कृतिक रूपमा जीवन्त बन्नुपर्छ।”
गोर्खेलाई पुनः जीवन्त बनाउन पुराना बजार क्षेत्र तथा ऐतिहासिक संरचनाको संरक्षण, पदमार्ग तथा सडक पूर्वाधारको विकास, स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन, होमस्टे सञ्चालन तथा स्थानीय उत्पादनको बजारीकरण गर्न सकिने सम्भावना छ। नेपाल–भारत सीमा क्षेत्रसँगको ऐतिहासिक सम्बन्धलाई समेत पर्यटनसँग जोड्न सके गोर्खेलाई सीमावर्ती पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने आधार देखिन्छ।
सूर्योदय नगरपालिका पर्यटकीय नगरीका रूपमा अघि बढिरहेको अवस्थामा गोर्खेको ऐतिहासिक पहिचानलाई नगरको समग्र पर्यटन विकास योजनासँग जोड्नु आवश्यक छ। कन्याम, अन्तु र फिक्कल आउने पर्यटकलाई गोर्खेसम्म पुर्याउने गरी पर्यटन सर्किट निर्माण गर्न सके यस क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पुग्न सक्छ।
गोर्खेको पुनरुत्थान केवल एउटा पुरानो बजारलाई पुनर्जीवन दिने विषय मात्र होइन, यो इतिहास, संस्कृति, स्थानीय अर्थतन्त्र र पर्यटनलाई एकै ठाउँमा जोड्ने अवसर पनि हो। त्यसका लागि विगतको गौरव सम्झिने मात्र होइन, त्यसलाई वर्तमानको आवश्यकता र भविष्यको सम्भावनासँग जोडेर स्पष्ट योजना, लगानी र कार्यान्वयनको बाटो तय गर्नुपर्ने देखिन्छ।
अब गोर्खेको प्रश्न ‘किन सुनसान भयोरु’ भन्नेमा मात्र सीमित नरही ‘यसलाई फेरि कसरी जीवन्त बनाउनेरु’ भन्ने बहसतर्फ केन्द्रित हुनुपर्ने समय आएको छ।


