
झापा, २ असोज । सडक सुरक्षा तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले वीरता जेसिजले ‘जेसीज सप्ताह २०२६’ अन्तर्गत ‘दुर्घटना न्यूनीकरण महाअभियान २०२६’ शुभारम्भ गरेको छ।
नेपालमा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना बढ्दै जनधनको क्षति भइरहेको अवस्थामा दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा संस्कृतिको विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
वीरता जेसिजका अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकराज कार्की प्रमुख अतिथि थिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष पाठक, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेका प्रमुख मदनबहादुर धानुक, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश खत्रीलगायतको उपस्थिति थियो।

अभियानअन्तर्गत २२ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत रहँदा कुनै दुर्घटना नगराएका पुष्पलाल थापा मगरलाई सम्मान गरिएको छ। उनलाई प्रमुख अतिथि कार्की र वीरता जेसिजका अध्यक्ष श्रेष्ठले नगद ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए।
यस्तै, नेको इन्स्योरेन्सको सहयोगमा ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी २ हजार सचेतनामूलक स्टिकर टाँस अभियान समेत सुरु गरिएको छ। जेसीज सप्ताहभर विभिन्न सार्वजनिक तथा व्यावसायिक सवारीसाधनमा स्टिकर टाँस गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश खत्रीले अधिकांश सवारी दुर्घटना मानवीय लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति र ट्राफिक नियमको बेवास्ताका कारण हुने गरेको बताए। उनले सचेतना र अनुशासनलाई दुर्घटना न्यूनीकरणको प्रमुख आधारका रूपमा लिनुपर्नेमा जोड दिए।
वीरता जेसिजका पूर्व अध्यक्ष प्रविण खड्का, पूर्व राष्ट्रिय उपाध्यक्ष तथा सिनेटर घनश्याम चौधरी र प्रमुख अतिथि कार्कीले सडक सुरक्षा सबै सरोकारवालाको साझा दायित्व भएकाले दुर्घटना न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।
कार्यक्रममा कोषाध्यक्ष जेसी अमरजित शाहले जेसीज आस्था वाचन गरेका थिए भने जेसी प्रभास थापा मगरले सम्मानपत्र वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव जेसी सुवास तीखत्रीले गरेका थिए।
वीरता जेसिजले सडक सुरक्षा र ट्राफिक सचेतनामार्फत दुर्घटनारहित समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता जनाउँदै अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।


