झापा, १७ असोज । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ।
निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले तोकिएको समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य लिएको छ। आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार अहिले दैनिक सातदेखि आठ सय मिटरसम्म सडक कालोपत्र भइरहेको छ।

“अझै चार महिना बाँकी छ। त्यसबेलासम्ममा ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ,” आयोजना प्रमुख पन्तले भने।
सडक निर्माणको तुलनामा पुल निर्माणको प्रगति भने कम छ। उनका अनुसार पुल निर्माणको समग्र प्रगति हाल ३१ प्रतिशत पुगेको छ। पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन्। तीमध्ये ३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई नदीमाथिका पुल निर्माणाधीन छन्।
आयोजनाअन्तर्गत अधिकांश साना कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन्। बाँकी सडक स्तरोन्नति, पुल तथा ओभरपास निर्माणको कामलाई एकैसाथ अघि बढाइएको छ।
पूर्वी खण्डमा चारआली चोक, बिर्तामोड र चारपानेमा मोटरेबल ओभरपास निर्माण गर्ने योजना छ। चारआलीको जंगल क्षेत्रमा वन्यजन्तु आवतजावतलाई सहज बनाउन हात्तीका लागि अन्डरपास निर्माण गरिनेछ। पैदलयात्रीका लागि भने छ वटा क्रसिङ निर्माण गर्ने योजना रहेको आयोजनाले जनाएको छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको हो। पूर्वी खण्डअन्तर्गत ४५ किलोमिटर काँकरभिट्टा–सितापुरी सडक स्तरोन्नतिका लागि रु १० अर्ब ६ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता भएको छ।
आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने चुनौतीका बीच सडक कालोपत्रको काम तीव्र बनाइएको आयोजनाले जनाएको छ।



