
झापा, १८ असोज । बाढीपहिरो प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि प्याब्सन झापाले एक करोड आठ लाख ३० हजार ४ सय ३५ रुपैयाँ सहयोग जुटाएको छ।
नेपाल सरकार र प्याब्सन केन्द्रको आह्वानपछि झापाका सदस्य विद्यालयमार्फत रकम संकलन गरिएको प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिए। अभियानमा विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो।
अध्यक्ष कार्कीका अनुसार सदस्य विद्यालयबाट ९५ लाख ४३ हजार २९ रुपैयाँ प्याब्सन झापाको खातामा जम्मा भएको थियो। त्यसमध्ये पहिलो चरणमा ७५ लाख ९३ हजार ९ सय ४७ र दोस्रो चरणमा १९ लाख ४९ हजार ८२ रुपैयाँ संकलन भएको सचिव लक्ष्मीप्रसाद उप्रेतीले बताए।
संकलित रकममध्ये ८९ हजार रुपैयाँ प्याब्सन केन्द्रीय राहत कोषमा पठाइएको छ। सदस्य विद्यालयहरूले आफ्नै तर्फबाट प्रधानमन्त्री राहत तथा दैवी प्रकोप कोषमा ११ लाख ९८ हजार ४ सय ६ रुपैयाँ जम्मा गरेका छन्।
प्याब्सन झापाले विपत्तिका बेला राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापना र बालबालिकाको शिक्षालाई निरन्तरता दिन समेत सहयोग आवश्यक रहेको जनाएको छ।


