
झापा, २५ असोज । बुढीगण्डकी नदीमा आएको बाढीबाट पाँच जना सम्पर्कविहीन भएका छन् भने १३२ वटा भौतिक संरचनामा क्षति पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेसम्म प्राप्त विवरणमा बाढीबाट ४५ वटा घर पूर्ण र २७ वटा घरमा आंशिक क्षति पुगेको छ।
बाढीले दुईवटा पक्की पुल, दुईवटा झोलुंगे पुल, तीनवटा जलविद्युत् आयोजना र चारवटा हवन कुण्डमा क्षति पुर्याएको छ। त्यस्तै, ३४ वटा गोठ, १२ वटा बंगुरका खोर तथा गोदाम र तीनवटा सवारीसाधनमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्चेतस्थित उङिलुङबाट दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८२ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिक रहेका छन्।
खोज तथा उद्धारमा चार सैनिक हेलिकप्टर परिचालन
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन चारवटा सैनिक हेलिकप्टरसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित चुम्लिङनजिकै उङिलुङ खोलाबाट गेग्रानसहितको बहाव आएर स्यारखोला थुनिएको थियो। केही समयपछि थुनिएको खोला फुट्दा लेदोसहितको बाढी बुढीगण्डकी नदीमा मिसिएको प्रारम्भिक विश्लेषण गरिएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले उक्त घटनाका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको प्रारम्भिक जानकारी दिएकी छन्।
बाढीबाट भएको क्षतिको थप विवरण संकलन तथा बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ।


