झापा, ९ मंसिर । झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपिएफ फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार दुधेमा भएको सेमिफाइनलमा एपिएफको जितमा रश्मिकुमारी घिसिङले दुवै गोल गरिन् । उनले खेलको २६औँ मिनेटमा फ्रि–किकमार्फत पहिलो गोल गरिन् भने ३८औँ मिनेटमा दोस्रो गोल थपिन् । खेलको प्लेयर अफ द म्याच एपिएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

फाइनल प्रवेशसँगै एपिएफले कम्तीमा ५ लाख ५० हजार रुपैयाँ पुरस्कार सुनिश्चित गरेको छ । अब बिहीबार हुने अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

