झापा, १० मंसीर । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी मङ्सिर १४ गते हुने निर्वाचनलाई लक्षित गर्दै देवेन्द्र सिटौला नेतृत्वको स्वतन्त्र समावेशी समूहले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
समूहको निर्वाचन प्रचारप्रसार समितिले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवारहरूको उपस्थितिमा प्रतिबद्धता सार्वजनिक गरेको हो । ‘स्वच्छ तथा गुणस्तरीय पानीको उपलब्धता, सर्वसुलभ पहुँच र नियमित आपूर्ति हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित समूहले खानेपानी सेवालाई सहज, सुलभ र व्यवस्थित बनाउने योजनासहित प्रतिबद्धता सार्वजनिक गरेको जनाएको छ ।

देवेन्द्र सिटौला नेतृत्वको प्यानलबाट उपाध्यक्षमा नन्दबहादुर तामाङ (सुवास), सचिवमा प्रदीप खरेल र कोषाध्यक्षमा केशव श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदमा पुनम अधिकारी (लिम्बू), निर्मला खरेल (ओडारी), गंगादेवी कन्दङ्वा, गजेन्द्र ओली र रामचन्द्र प्रसाईँ उम्मेदवार रहेका छन् ।

निर्वाचन परिचालन समितिका संयोजक हरिचरण शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री एकराज कार्की, हिमालयप्रसाद कन्दङ्वा, कमलप्रसाद कडरिया र ओमकृष्ण विमलीलगायतले पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता र निर्वाचन परिचालन समितिमा आबद्ध प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रचारप्रसार समितिका संयोजक बद्रीप्रसाद भट्टराईले गरेका थिए ।
यस्ता छन् १७ बुँदे प्रतिबद्धता
स्वतन्त्र समावेशी समूहले खानेपानी सेवालाई उपभोक्तामैत्री बनाउनेदेखि पूर्वाधार विस्तार र आर्थिक पारदर्शितासम्मका योजना अघि सारेको छ ।
१. खानेपानीको न्यूनतम युनिट १० बाट बढाएर २० युनिट पुर्याउने ।
२. उपभोक्ताका लागि अनलाइन सेवा सञ्चालन गर्ने ।
३. मिटर जडान शुल्क घटाएर पाँच हजार रुपैयाँ कायम गर्ने ।
४. हालको विधान संशोधन गरी लोकतान्त्रिक र उपभोक्तामैत्री बनाउने ।
५. अपाङ्गता भएका व्यक्ति, गरिब तथा पिछडिएका वर्गलाई सहुलियत दरमा मिटर उपलब्ध गराउने ।
६. घरको माथिल्लो तलासम्म खानेपानी पुग्ने व्यवस्था मिलाउने ।
७. गुणस्तरीय खानेपानी नियमित रूपमा आपूर्ति गर्ने ।
८. दुई वर्षभित्र सबै क्षेत्रमा खानेपानी सेवा विस्तार गर्ने ।
९. पानीका मुहान, खोलानाला तथा सहरलाई सफा राख्ने ।
१०. अन्धुवा, धरधरे, रेखालगायतका खोलामा रहेका जरुवा पानीलाई जलाशयका रूपमा विकास गर्ने ।
११. मुक्तिचोकमा रहेको फायर हाइड्रेन्ट अन्य घना बस्ती भएका क्षेत्रमा समेत विस्तार गर्ने ।
१२. संस्थामा आर्थिक अनियमितता हुन नदिने ।
१३. ट्याङ्की नम्बर २ को फिल्टर परिवर्तन गर्ने ।
१४. जोखिम व्यवस्थापन तथा आकस्मिक सेवा प्रदान गर्ने ।
१५. साना तथा टुटफुट भएका पाइपलाइन परिवर्तन गर्ने ।
१६. खानेपानीलाई प्रशोधन गरी मिनरल वाटरका रूपमा जार तथा बोतलमा उपलब्ध गराउने ।
१७. सुकुम्बासी बस्ती तथा मिटर खरिद गर्न नसक्ने स्थानमा सार्वजनिक धारा जडान गर्ने ।

