अर्जुनधारा, १० मंसिर । झापाको अर्जुनधारा नगरपालिकामा जलवायु उत्थानशील समुदाय निर्माणका लागि दिगो कृषि, वन तथा जैविक विविधता व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा मङ्सिर १० गते नगर प्रमुखको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कृषक, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा विभिन्न सरोकारवालासहित ५० जनाको सहभागिता रहेको थियो ।
कृषि तथा जलवायु विज्ञबाट प्रशिक्षण तथा सहजीकरण गरिएको कार्यक्रममा जलवायु परिवर्तनका असर तथा प्रभाव, जलवायु अनुकूलनका उपाय, जलवायु उत्थानशील कृषि प्रणाली र दिगो कृषि अभ्यासका विषयमा छलफल गरिएको थियो ।
त्यसैगरी वन तथा जैविक विविधता संरक्षण र प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापनसम्बन्धी विषयमा सहभागीलाई जानकारी गराइएको थियो । कार्यक्रममा जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न स्थानीयस्तरमा अपनाउन सकिने उपायबारे अन्तरक्रियासमेत गरिएको थियो ।
कार्यक्रमले स्थानीय समुदायमा जलवायु परिवर्तनसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै दिगो कृषि प्रणालीको विकास, वन संरक्षण र जैविक विविधताको व्यवस्थापनमा समुदायको भूमिका तथा जिम्मेवारीबारे जानकारी गराउन सहयोग पुगेको नगरपालिकाले जनाएको छ ।

