झापा, १० कार्तिक । झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको धानले उचित मूल्य पाऊन् भन्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत धान खरिद गर्न लागिएको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकले २०८३ मङ्सिर १५ गतेदेखि धान खरिद प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार झापामा यस वर्ष कुल १२ हजार क्विन्टल धान खरिद गरिनेछ। जसअन्तर्गत सोना मनसुली धान ८ हजार क्विन्टल र रञ्जित मनसुली धान ४ हजार क्विन्टल खरिद गरिनेछ।
सरकारले चालु आर्थिक वर्षका लागि दुवै जातको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ निर्धारण गरेको छ। सोही मूल्यका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिर्तामोडस्थित कार्यालयमार्फत धान खरिद गरिने जनाइएको छ।
स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्दै किसानलाई उत्पादनको उचित मूल्य उपलब्ध गराउने उद्देश्यले सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो।
यसैबीच, सरकारले तोकेको न्यूनतम समर्थन मूल्यलाई आधार मानेर धान खरिद तथा बिक्री गर्न निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई पनि स्वेच्छिक रूपमा सहभागी हुन आग्रह गरिएको छ। निजी क्षेत्रका हकमा भने सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्नुपर्ने व्यवस्था बाध्यकारी नरहेको जनाइएको छ।

