झापा, १० मंसिर । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी र कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका ससुरा र श्रीमान्लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको हो । प्रहरीका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित आफ्नै घरमा ५५ वर्षीय ससुराले बालिकामाथि जबरजस्ती करणी गरेका थिए ।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले आरोपित ससुरालाई पक्राउ गरेको थियो । उनलाई मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसै घटनालाई लिएर आरोपितका २३ वर्षीय छोराले आफ्नी आमासमेतको उपस्थितिमा बालिकालाई सोधपुछ गर्दै कुटपिट गरेका थिए । उनले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेपछि घटना सार्वजनिक भएको थियो ।
भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुटपिट गर्ने तथा भिडियो अपलोड गर्ने बालिकाका श्रीमान्लाई मंसिर ९ गते पक्राउ गरेको हो । उनीमाथि विद्युतीय अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिविरुद्ध हुने अपराधमा प्रहरीले शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको बताएका छन् ।

