झापा, १० मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

त्यस्तै, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शुक्रबार कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा देशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

