झापा, १० मङ्सिर । नेपाल सरकारबाट अनुदानमा उपलब्ध गराइएको रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापा प्रशासनले बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारस्थित संजीवनी कृषि भण्डारलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा मङ्सिर १० गते गरिएको आकस्मिक अनुगमनका क्रममा कृषि भण्डारले अनुदानित मलको बिक्री वितरणसम्बन्धी तोकिएका सर्त उल्लङ्घन गरेको पाइएको हो ।


प्रशासनका अनुसार संजीवनी कृषि भण्डारले मङ्सिर ८ गते साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, बिर्तामोडबाट युरिया १७० बोरा र डीएपी ६० बोरा गरी २३० बोरा मल खरिद गरेको थियो । त्यस्तै, मङ्सिर ९ गते कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट थप १७० बोरा डीएपी मल खरिद गरेको थियो ।
यसरी कुल ४०० बोरा मल खरिद गरेकोमा अनुगमनका क्रममा गोदाममा २४१ बोरा मात्रै मौज्दात रहेको पाइएको प्रशासनले जनाएको छ । मौज्दातमध्ये १२० बोरा युरिया र १२१ बोरा डीएपी रहेको थियो ।
बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण कृषि भण्डारले अनुगमन टोलीसमक्ष पेस गर्न नसकेको प्रशासनको प्रेस विज्ञप्तिमा उल्लेख छ । विवरण पेस गर्न नसकेपछि अनुदानित रासायनिक मलको बिक्री वितरणसम्बन्धी तोकिएका सर्तविपरीत कार्य गरेको ठहर गर्दै उपभोक्ता हित संरक्षण ऐनबमोजिम तत्कालै दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।
प्रशासनले कृषि भण्डारलाई आवश्यक विवरणसहित कार्यालयमा उपस्थित हुनसमेत निर्देशन दिएको छ ।
अनुगमन टोलीमा कृषि ज्ञान केन्द्र झापाका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, जनप्रतिनिधि तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसैगरी, बुद्धशान्ति गाउँपालिका–३ कै ७ नम्बर चोकमा रहेको न्यू कञ्चन कृषि सहकारी संस्थामा समेत अनुगमन गरिएको थियो । उक्त सहकारी संस्थाको रासायनिक मल खरिद, बिक्री तथा मौज्दात विवरण दुरुस्त पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

