अर्जुनधारा, ९ मंसिर । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पाण्डवपुरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले श्रीमद् भविष्य महापुराण एवं धान्याञ्चल नवाह महायज्ञ आयोजना गरिएको छ ।
बागेश्वरी दुर्गा भगवती मन्दिर परिसरमा बुधबारदेखि सुरु भएको महायज्ञको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका हुन् । मंसिर ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महायज्ञमार्फत मन्दिर तथा आसपासको क्षेत्रको विकासका लागि आर्थिक स्रोत जुटाउने लक्ष्य राखिएको छ ।


महाभारतकालीन इतिहाससँग जोडिएको पाण्डवपुर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि आर्थिक अभाव र पर्याप्त प्रचारप्रसारको कमीका कारण अपेक्षित विकास हुन नसकेको बागेश्वरी दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि पौडेलले बताए ।
उनका अनुसार उक्त क्षेत्रलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । मन्दिर व्यवस्थापन समितिको गुरुयोजनाअनुसार पाँच पाण्डव मन्दिरलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
महायज्ञमा पण्डित कृष्णप्रसाद न्यौपानेले प्रमुख कथावाचक र पण्डित दीपक सुवेदीले उपवाचकको भूमिका निर्वाह गरिरहेका छन् । नौ दिनसम्म सञ्चालन हुने महापुराणमा श्रद्धालु भक्तजन तथा सहयोगी दातालाई आफूले सकेको आर्थिक सहयोग गर्न अध्यक्ष पौडेलले आग्रह गरेका छन् ।
महायज्ञ आयोजक समितिका संयोजक गणेश कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पतञ्जलि योग समिति केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज जीबी तिवारी, विश्व हिन्दु महासंघ झापाका सचिव ज्ञानेन्द्रबहादुर कार्की (गणेश), आचार्य पण्डित आशुतोष खनाल, समाजसेवी गोविन्द कार्की र भानु माध्यमिक विद्यालयका प्राचार्य रूपक दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मन्दिरको गतिविधि तथा भावी योजनासम्बन्धी प्रतिवेदन सचिव देवराज बुढाथोकीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन पनि बुढाथोकीले नै गरेका थिए ।
महायज्ञ अवधिभर भजनकीर्तनसहितका सांगीतिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । यसैगरी, बिहीबार बिहान ४ बजेदेखि योग शिविरसमेत सञ्चालन गरिने बताइएको छ ।

