झापा, २८ असोज । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।


