झापा, २८ असोज । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन दसैँ घर तथा पूजा कोठामा कुष्माण्डा देवीको पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले शरणमा आएका भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप तथा कष्ट निवारण गर्नुहुन्छ।
श्री दुर्गा सप्तशती ९चण्डी० को देवी कवचमा कुष्माण्डा देवीको महिमाबारे उल्लेख गरिएको छ। विभिन्न पुराणमा उहाँले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने वर्णनसमेत पाइन्छ।
नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौको जमरा राखिएको थियो। सोही दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिएको थियो।
नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। यस अवधिमा देवीको आराधना र पूजा गरेमा शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने शास्त्रीय विधान छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रमा पूजा आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने चलन छ। यसरी नेपाली समाजमा बडादसैँलाई १५ दिनसम्म हर्षोल्लासका साथ मनाउने परम्परा छ।


