झापा, २८ असोज । झापामा आयोजित एकदिने निःशुल्क आँखा परीक्षण शिविरबाट ४२१ जना लाभान्वित भएका छन्।
समुदायमा आँखाको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने तथा सर्वसाधारणलाई सहज रूपमा आँखा परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले बुधबार शिविर आयोजना गरिएको हो।
शिविर लायन्स क्लब अफ अनारमनी, लायन्स क्लब अफ कनकाई सुरुङ्गा, लायन्स क्लब अफ कनकाई दुर्गापुर, लायन्स क्लब अफ मेचीनगर र लायन्स क्लब अफ बिर्तामोड सिनर्जीको संयुक्त आयोजनामा सम्पन्न भएको हो। सो कार्यक्रममा मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो।
‘सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो’ भन्ने मान्यतासहित आयोजित शिविरले सर्वसाधारणको आँखाको स्वास्थ्य परीक्षणमा पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
लायन्स क्लब अफ अनारमनीका सचिव सृजन अधिकारीका अनुसार समुदायमा आँखाको स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने, समयमै आँखा परीक्षण गर्ने बानीको विकास गर्ने तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
शिविर सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी तथा सहभागीहरूप्रति आयोजक क्लबहरूले आभार व्यक्त गरेका छन्।
आयोजक क्लबहरूले आगामी दिनमा पनि सामाजिक सेवा, मानवीय सहयोग तथा जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।


