झापा, १८ कात्तिक । सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सार्वजनिक स्वास्थ्य सुधारलाई तीव्रता दिने भएको छ।
यसैक्रममा मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्था र नियन्त्रणका उपायबारे छलफल भएको छ।

बैठकले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथाम गर्ने निष्कर्ष निकालेको छ। साथै, बहुक्षेत्रीय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।
बैठकमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना विस्तार, नसर्ने रोग नियन्त्रणमा स्थानीय तहसँग समन्वय, विद्यालय तहदेखि सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने तथा विशेषज्ञ चिकित्सकलाई स्वदेशमै टिकाइराख्ने विषयमा छलफल भएको थियो।
त्यसैगरी, सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जङ्क फुड, विषादीयुक्त खाद्यवस्तु र अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख जोखिमका रूपमा औँल्याइएको छ। यस्ता वस्तुको उत्पादन, बिक्रीवितरण र उपभोगमा प्रभावकारी नियन्त्रण तथा नियमन गर्नुपर्नेमा बैठकले जोड दिएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारमा मात्र केन्द्रित नभई रोकथाम, जनचेतना, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली प्रवर्द्धनलाई प्राथमिकता दिने नीति लिएको छ।
सन् २०३० सम्ममा नसर्ने रोगका कारण हुने अकाल मृत्युदर एक तिहाइले घटाउने दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धताअनुरूप सरकारले रोकथाममुखी स्वास्थ्य रणनीतिलाई प्रभावकारी बनाउने तयारी गरेको छ।



