झापा, २५ कार्तिक । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ । देशका बाँकी हिमाली भूभाग, पहाडी क्षेत्र तथा मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ । तराईका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । मधेस र कोशी प्रदेशका तराई भूभागका पनि एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



