झापा, २८ कात्तिक । झापाको मेचीनगरबाट भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ५ लाख ६१ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान र एउटा अटो प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाबाट खटिएको मोबाइल गस्ती टोलीले कात्तिक २४ गते मेचीनगर नगरपालिका–११ स्थित धाइजन क्षेत्रमा उक्त सामान बरामद गरेको हो । भारतबाट भन्सार छली गरी अटोमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अटो र त्यसमा लोड गरिएका लत्ताकपडा तथा भाँडावर्तन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामान र अटोसहितको अनुमानित मूल्य ५ लाख ६१ हजार ४०० रुपैयाँ रहेको छ ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।


