झापा, २८ कात्तिक । जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति न्यूनीकरण गर्न पूर्वी सीमा क्षेत्रमा नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन ट्याक्टरको प्रयोगलाई व्यापक बनाउनुपर्ने माग मेचीनगरका स्थानीयले गरेका छन्।
हात्ती नियन्त्रणका प्रयासको अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रबार मेचीनगर नगरपालिका–४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन्।

मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले करिब एक दशकअघि जडान गरिएको विद्युतीय तारबार जीर्ण भइसकेकाले यसको दीर्घकालीन समाधानका लागि नयाँ तारबार आवश्यक रहेको बताउनुभयो।
उहाँका अनुसार भारतबाट दैनिक करिब १०० वटाको सङ्ख्यामा आउने हात्तीको बथानलाई स्थानीयले रातभर गस्ती गरेर मेची नदीको बगरमै रोक्ने प्रयास गर्दै आएका छन्। बाहुनडाँगीका विभिन्न गौंडाबाट नेपाल प्रवेश गर्ने हात्तीले झापा, मोरङ र सुनसरीसम्म जनधन तथा बालीनालीमा क्षति पुर्याइरहेको उहाँले बताउनुभयो।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्तीहरू पछिल्लो समय गाउँबस्तीतर्फ सोझिन थालेको उल्लेख गर्दै पूर्वी सीमा क्षेत्रमा बलियो विद्युतीय घेराबेरा निर्माण गर्न राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो।
धानबाली पाक्ने समयमा ठूलो सङ्ख्यामा आउने हात्तीलाई सीमामै रोक्न समितिले पछिल्लो समय ट्याक्टरको प्रयोग गर्दै आएको छ। स्थानीय राजु दाहालले ट्याक्टरको आवाजबाट हात्ती तर्सिने भएकाले बाली भित्र्याउने समयमा प्रत्येक गौंडामा कम्तीमा दुईवटा ट्याक्टर परिचालन गर्नुपर्ने सुझाव दिनुभयो।
हात्ती नियन्त्रणका लागि परिचालित स्वयम्सेवी युवा समूह (आरआरटी)का अगुवा न्युटन कार्कीले सडक नभएका खेतबारीमा समेत ट्याक्टर लैजान सकिने भएकाले हात्ती धपाउन यसको प्रयोग प्रभावकारी देखिएको बताउनुभयो।
स्थानीयका गुनासा तथा सुझाव सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावित बासिन्दा र सरोकारवाला निकायबीच साझा दृष्टिकोणसहितको कार्ययोजना आवश्यक रहेको बताउनुभयो।
उहाँले स्थानीयको मागअनुसार नयाँ योजनाका साथ काम अघि बढाउने प्रतिबद्धता जनाउँदै सीमा क्षेत्रमा हात्तीको प्रवेश रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिनुभयो।



