झापा, २८ कात्तिक । दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता तथा सङ्गठित अपराधको अनुसन्धानका क्रममा नेपाल प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मालाई पक्राउ गरेको हो। सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी आज सार्वजनिक गरिएको ब्युरोले जनाएको छ।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर जबराका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानका तत्कालीन महाप्रबन्धक तथा उच्च तहका कर्मचारीको मिलेमतोमा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्याइएको भन्ने उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको हो।
ब्युरोको प्रारम्भिक अनुसन्धानबाट संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा अन्य कर्मचारीले पूर्वयोजनाअनुसार आपसी मिलेमतोमा विभिन्न समूह बनाई सङ्गठित सञ्जालमार्फत संस्थानलाई आर्थिक नोक्सानी पुर्याएको खुलेको छ।
उक्त प्रकरणमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याई सोही रकम गैरकानुनी रूपमा लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सिआइबीले जनाएको छ।
शर्माविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिम अनुसन्धान भइरहेको प्रवक्ता जबराले जानकारी दिनुभयो।
ब्युरोका अनुसार जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर शर्मालाई पक्राउ गरिएको हो। यस प्रकरणमा प्रहरीले यसअघि नै आठ जनालाई पक्राउ गरिसकेको छ।



