झापा, २ मंसिर । झापाको बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिक ३१ वर्षको सफल प्रकाशन यात्रा पूरा गरी आजदेखि ३२औँ वर्षमा प्रवेश गरेको छ ।
स्थानीय सरोकार, क्षेत्रीय आवाज र राष्ट्रिय महत्त्वका घटनाक्रमलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै आएको पूर्वाञ्चल दैनिकले विभिन्न आरोह–अवरोह र चुनौती पार गर्दै पत्रकारिताको यात्रालाई निरन्तरता दिएको हो ।

२०५२ साल मङ्सिर १ गतेदेखि नियमित प्रकाशन सुरु गरेको पूर्वाञ्चल दैनिकले स्थापनाकालदेखि नै स्थानीय नागरिकका आवाज, सामाजिक मुद्दा र विकास निर्माणका विषयलाई प्राथमिकतामा राख्दै आएको छ । सीमित प्रविधि र स्रोतसाधनबाट सुरु भएको पत्रिकाले मोफसलमा आधुनिक अफसेट प्रविधि भित्र्याउँदै पत्रकारिताको क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको थियो ।
श्रीअन्तु प्रकाशन प्रालिअन्तर्गत प्रकाशित पूर्वाञ्चल दैनिकले प्रेस काउन्सिल नेपालबाट निरन्तर ‘क’ वर्गको मान्यता प्राप्त गर्दै आएको छ । समय र प्रविधिको परिवर्तनसँगै प्रिन्ट संस्करणमा मात्र सीमित नरही आफ्नै अनलाइन पोर्टलमार्फत डिजिटल पत्रकारितालाई समेत अघि बढाइरहेको छ ।
३२औँ वर्ष प्रवेशका अवसरमा संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पत्रिकाको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने पाठक, लेखक, विज्ञापनदाता, कर्मचारी तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् ।
परिवर्तित समय र पाठकको रुचिअनुसार सञ्चार सेवाको दायरा विस्तार गर्दै जाने संस्थाको योजना छ । व्यवस्थापक चन्द्रकान्त ढकालले पाठक, विज्ञापनदाता र सहकर्मीलाई संस्थाका मुख्य आधारस्तम्भका रूपमा उल्लेख गर्दै आगामी दिनमा अनलाइन माध्यमबाट भिडियो सामग्री, श्रव्यदृश्य समाचार बुलेटिन तथा विभिन्न कार्यक्रम प्रसारण गर्ने योजना रहेको बताए ।
त्यस्तै, सहसम्पादक नरेन्द्र ढकालले मोबाइलबाटै ताजा समाचार, नियमित अपडेट र रंगीन ई–पेपर पढ्न सकिने व्यवस्था विस्तार भएपछि नयाँ पुस्ताका पाठकमाझ पनि पत्रिकाको पहुँच बढ्दै गएको बताए ।
राजनीतिक परिवर्तन, आर्थिक तथा सामाजिक उतारचढाव र प्राकृतिक विपत्तिका बीच पनि निरन्तर प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिकले कोशी प्रदेशका विभिन्न जिल्लामा आफ्नो वितरण सञ्जाल विस्तार गरेको छ । स्थानीय सरकारका गतिविधि, विकास निर्माण, व्यापार–व्यवसाय, सामाजिक अभियान तथा कला–संस्कृतिका विषयलाई पत्रिकाले निरन्तर प्राथमिकता दिँदै आएको छ ।
प्रधान सम्पादक एकराज गिरीले पाठकको अटुट विश्वास र विज्ञापनदाताको निरन्तर सहयोगले पत्रिकालाई आजको स्थानसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
३२औँ वर्ष प्रवेशसँगै ‘नयाँ पुस्ता, नयाँ प्रविधि र नयाँ युगको पत्रकारिता’ लाई आत्मसात् गर्दै राष्ट्रहित र जनसरोकारका विषयमा पैरवी गर्ने प्रतिबद्धता पत्रिकाले व्यक्त गरेको छ । साथै समाजलाई थप उत्तरदायी र जवाफदेही बनाउन खबरदारीपूर्ण पत्रकारितालाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ ।



