झापा, २ मंसिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो कोशी र मधेस प्रदेशसहित बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।



