झापा, ५ मंसिर । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी मंसिर १४ गते हुने निर्वाचनका लागि पारसमणि मैनाली नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ।
नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयुक्त रूपमा राष्ट्रवादी प्रजातान्त्रिक प्यानल गठन गरी शनिबार उम्मेदवारी घोषणा गरेका हुन्।

घोषित प्यानलबाट अध्यक्षमा निवर्तमान सचिव पारसमणि मैनाली, उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष शैलेन्द्र सिटौला, सचिवमा खगेन्द्र थापा र कोषाध्यक्षमा आनन्द गुरुङले उम्मेदवारी दिएका छन्।
त्यस्तै, सदस्यमा विरणकुमार कोइराला र विकास रिजाल तथा महिला सदस्यमा कमला अग्रवाल, किरण सुब्बा र सोना श्रेष्ठ उम्मेदवार बनेका छन्।
नेपाली कांग्रेस बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी प्रमुख अतिथि थिए। कार्यक्रममा राप्रपाका नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री भक्तिप्रसाद सिटौलालगायतले उम्मेदवारलाई शुभकामना दिएका थिए।
अध्यक्षका उम्मेदवार मैनालीले आफूले संस्थामा दुई कार्यकाल सदस्य र पछिल्लो कार्यसमितिमा सचिवका रूपमा काम गरेको अनुभवका आधारमा नेतृत्वका लागि उम्मेदवारी दिएको बताए। उनले आफ्नो प्यानललाई विजयी गराउन उपभोक्तासँग मत मागेका छन्।
निर्वाचन समितिका अनुसार मंसिर ७ गते उम्मेदवारी दर्ता र मंसिर १४ गते मतदान हुनेछ। संस्थाको कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्य गरी नौ पदका लागि निर्वाचन हुँदैछ।
कार्यालय प्रमुख खड्गराज गिरीका अनुसार संस्थामा हाल १० हजार ८३३ जना उपभोक्ता रहेका छन्।



