झापा, ५ मंसिर । दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उद्घाटन खेलमा झापा–११ फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई १०–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
दुधे रंगशालामा आज भएको खेलमा झापाको जितमा सजिना स्याङताङले ह्याट्रिकसहित चार गोल गरिन्। ममता राउतले दुई तथा सेमिहाङमा लिम्बु, सञ्जु तामाङ, अञ्जली चन्द र पुनम चेम्जोङले एक–एक गोल गरे।

पहिलो हाफमा २–० को अग्रता बनाएको झापाले दोस्रो हाफमा थप आठ गोल गरेको थियो। उत्कृष्ट प्रदर्शन गरेकी सजिना खेलको प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरिन्।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। आइतबार हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र भारतको एभी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
उद्घाटन कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले दुधे रंगशालालाई नगर गौरवको आयोजनाका रूपमा विकास गर्दै महिला फुटबल खेलाडी उत्पादनको केन्द्र बनाउने बताए ।



