झापा, ५ मंसिर । झापाको उत्तरी क्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दै गएपछि किसान रातभर जाग्राम बस्न बाध्य भएका छन्। भारतको पश्चिम बङ्गाल हुँदै बथानसहित नेपाल प्रवेश गर्ने हात्तीले खेतबारीमा पाकेको अन्नबाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेपछि स्थानीयवासीको जिउधन असुरक्षित बनेको छ।
शुक्रबार राति अर्जुनधारा नगरपालिका–६ स्थित खेमकुमारी श्रेष्ठको मकैबारीमा पसेका दुईवटा जङ्गली हात्तीले मकै खाएर र कुल्चिएर पूर्ण रूपमा नष्ट गरिदिएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको थियो।

हात्तीको त्रासका कारण जिल्लाका उत्तरी क्षेत्रका किसानलाई पाकेको बाली भित्र्याउनसमेत हम्मेहम्मे परेको छ। कतिपय स्थानमा सुरक्षाकर्मी र स्थानीयवासीको पहरामा किसानले खेतबाट अन्नबाली भित्र्याउनुपर्ने अवस्था छ।
गत साता मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान लक्ष्मी घिमिरेले पनि सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा हात्तीबाट जोगाउन खेतको पाकेको धान हतारहतार काटेर घर भित्र्याए। तर, धान घर ल्याएपछि पनि उनको चिन्ता भने हटेको छैन।
‘खेतबाट धान काटेर घर त ल्याइयो, तर भकारीमा थन्क्याएको अन्न कसरी जोगाउने भन्ने पिरलो छ,’ घिमिरेले दुखेसो पोख्दै भन्नुभयो, ‘हात्तीले खेतको मात्र होइन, घरकै भित्ता भत्काएर भित्र राखेको धानसमेत खाइदिन्छ। वर्षभरि के खाने भन्ने चिन्ताले सताएको छ।’
मेचीनगर, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका सयौँ किसान अहिले यस्तै त्रासमा छन्। डिभिजन वन कार्यालयका निमित्त प्रमुख रामबरत यादवका अनुसार भारतको आसाम र पश्चिम बङ्गालका जङ्गल हुँदै मेची नदी तरेर नेपाल प्रवेश गर्ने हात्तीको परम्परागत जैविक मार्ग (करिडोर) अवरुद्ध हुँदा समस्या थप जटिल बनेको हो।
मङ्सिर महिना धान पाक्ने समय भएकाले खानाको खोजीमा हात्ती बस्ती पस्ने क्रम बढ्ने गरेको उहाँले बताउनुभयो। विशेषगरी बाहुनडाँगी क्षेत्रमा लगाइएको सोलार फेन्सिङ (विद्युतीय तारबार) ठाउँठाउँमा बिग्रिएको र हात्तीले वैकल्पिक बाटो प्रयोग गर्न थालेकाले बस्तीमा क्षति बढिरहेको निमित्त प्रमुख यादवको भनाइ छ।
मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले हात्ती नियन्त्रणका लागि रातको समयमा गस्ती बढाउनुका साथै र्यापिड रेस्पोन्स टिम (द्रुत प्रतिकार टोली) परिचालन गरिएको बताउनुभयो। यद्यपि, हात्तीको सङ्ख्या ठूलो हुँदा नियन्त्रणमा कठिनाइ भइरहेको उहाँको भनाइ छ।
हात्तीको बढ्दो उपद्रवबाट आजित किसानले बिग्रिएका विद्युतीय तारबार तत्काल मर्मत गर्न, नियमित साइरन र पर्याप्त उज्यालोको व्यवस्था मिलाउन तथा बालीनालीमा भएको क्षतिको उचित र शीघ्र क्षतिपूर्ति उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गरेका छन्।



