झापा, ६ मंसिर । पश्चिमी वायु र भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले आज कोशी प्रदेशसहित देशका हिमाली भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेश तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कोशी प्रदेशको तराई र मधेस प्रदेशसहित देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।



