झापा, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आज भारतको नयाँ दिल्ली जाँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने कार्यक्रम छ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री शाह अपराह्न ३ः४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग आइतबार साँझ शिष्टाचार भेट गर्नेछन्। सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता तथा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणमा आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार, विकास आयोजना र दुई देशबीचको सम्बन्धका विविध विषयलाई प्राथमिकता दिइएको छ। विशेषगरी भैरहवा र महेन्द्रनगरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा नेपालले भारतसँग सहमति जुटाउने प्रयास गर्नेछ।
त्यस्तै, अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको शिलान्यास, विभिन्न विकास आयोजनाको उद्घाटन तथा नयाँ समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ। अयोध्या–जनकपुर रेलमार्ग, दार्चुलाको पुल, भैरहवा एकीकृत जाँच चौकी र नेपाल प्रहरी एकेडेमीको भवन उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ।
भ्रमणका क्रममा सूचना प्रविधि, बन्दरगाह, व्यापार तथा आर्थिक सहकार्यका विषयमा पनि छलफल हुनेछ। उच्चस्तरीय भेटघाट र द्विपक्षीय वार्ता सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।



