झापा, ७ मंसिर । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप र ध्यान गरी मनाइँदैछ।
यस दिन नदी तथा तीर्थस्थलमा स्नान गरी भगवान् विष्णुको पूजा, आराधना र दान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। वैकुण्ठ चतुर्दशीका अवसरमा भगवान् विष्णुको पूजा गरी रातभर जाग्राम बस्ने परम्परासमेत रहेको छ।

धार्मिक मान्यताअनुसार वैकुण्ठ चतुर्दशीको सम्बन्ध भगवान् शिव र विष्णु दुवैसँग जोडिएको छ। त्यसैले यस दिनलाई हरि र हरको मिलनको उत्सवका रूपमा पनि लिने गरिन्छ। शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशी र व्रतका लागि अहोरात्र चतुर्दशीलाई उत्तम मानिएको छ।
भगवान् विष्णुका अनेक नाममध्ये वैकुण्ठ पनि एक हो। कुण्ठारहित ज्ञान वा स्थानको आश्रय लिने भगवान्का रूपमा वैकुण्ठ नाम रहेको पौराणिक व्याख्या छ। महाभारतको शान्तिपर्वमा भगवान् विष्णुले आफ्ना विभिन्न नामको उत्पत्तिबारे बताउनुभएको प्रसङ्गसमेत उल्लेख छ।
धार्मिक विश्वासअनुसार यस दिन भगवान् विष्णुको नाम स्मरण र स्तुति गर्दा दुःख तथा सङ्कटबाट मुक्ति मिल्ने र पुण्य प्राप्त हुने मान्यता छ। महाभारतको शान्तिपर्वमा भीष्मले धर्मराज युधिष्ठिरसहित पाँच पाण्डवलाई भगवान् विष्णुको स्तुति र जपको महत्त्वबारे बताउनुभएको प्रसङ्ग छ।
भीष्मले विष्णुको स्तुति गरेको समयको स्मरणमा आजदेखि भीष्मपञ्चक पनि सुरु हुन्छ। भीष्मपञ्चक पाँच दिनसम्म मनाइने धार्मिक पर्व हो।
पौराणिक मान्यताअनुसार हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णुले आफ्नो कार्यभार भगवान् शिवलाई सुम्पनुभएको थियो। वैकुण्ठ चतुर्दशीका दिन भगवान् शिवले पुनः विष्णुलाई कार्यभार हस्तान्तरण गरी कैलाश फर्कनुहुने विश्वास गरिन्छ।
यही धार्मिक मान्यताका कारण वैकुण्ठ चतुर्दशीलाई हरि र हर अर्थात् भगवान् विष्णु र शिवको मिलनको पर्वका रूपमा समेत मनाउने गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुभयो।
पौराणिक मान्यताअनुसार गण्डकी नदीको नाम भगवान् विष्णुसँग सम्बन्धित छ। त्यस्तै, काठमाडौँ उपत्यकाको विष्णुमती नदी र बूढानीलकण्ठस्थित भगवान् विष्णुको प्रसिद्ध मूर्तिसमेत विष्णु परम्परासँग जोडिएका धार्मिक तथा सांस्कृतिक सम्पदा हुन्।



