सन्तोष शर्मा
झापा, ७ मंसिर । झापामा गत कात्तिक महिनामा विभिन्न प्रकृतिका १५० वटा आपराधिक मुद्दा दर्ता भएका छन् । सोही अवधिमा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३० जनाले आत्महत्या गरेका छन् भने विपदका घटनामा परी ३ जनाले ज्यान गुमाएका छन् । यी ३ जनामा मात्रै ४६ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार कात्तिकमा १५ वटा जघन्य, ३६ वटा गम्भीर, २९ वटा सामान्य प्रकृतिका मुद्दा दर्ता भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्धका कसुरमा १० वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये महिलासम्बन्धी ४ र बालबालिकासम्बन्धी ६ वटा छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार आर्थिक अपराधतर्फ १४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ठगीका ३ र बैंकिङ कसुरका ११ वटा मुद्दा छन् । दर्ता भएका मुद्दामा १५२ जना प्रतिवादी संलग्न रहेकामा १४२ जना पक्राउ परेका छन् भने ४० जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
घरेलु हिंसाका १४ उजुरी
कात्तिक महिनामा घरेलु हिंसासम्बन्धी १४ वटा उजुरी परेका छन् । तीमध्ये शारीरिक तथा मानसिक यातनाका १०, पारिवारिक कलहका २ र मादक पदार्थ सेवनसम्बन्धी २ उजुरी छन् । उजुरीमध्ये १३ वटा उजुरीमा मिलापत्र गरिएको छ । सोही अवधिमा प्रहरी कार्यालयमा १९७ वटा ठाडो उजुरी परेकोमा सबै मिलापत्र गरिएको जनाएको छ ।
कात्तिक महिनामा २४ महिला, १३ पुरुष, २ बालक, १७ बालिका र १ ज्येष्ठ नागरिक गरी ५७ जना हराएका थिए । तीमध्ये १९ महिला, ६ पुरुष, २ बालक, ११ बालिका र १ ज्येष्ठ नागरिक गरी ३९ जना फेला परेका छन् भने बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गाँजा साढे पाँच सय किलो बरामद
प्रहरीले कात्तिक महिनामा ५५७ किलो गाँजा र २१६ ग्राम २०५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । ब्राउन सुगरसहित ३१ जना र २ वटा मोटरसाइकल पक्राउ गरिएको छ । यसैगरी २४ थान मनोद्वीपक चक्कीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
३० जनाले गरे आत्महत्या
झापामा कात्तिक महिनामा १२ महिला र १८ पुरुष गरी ३० जनाले आत्महत्या गरेका छन् । तीमध्ये २९ जनाले झुण्डिएर र १ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ । आत्महत्या गर्नेमा ३६ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिको संख्या सबैभन्दा धेरै ८ जना रहेको छ ।
सवारी दुर्घटनामा १३ जनाको मृत्यु
कात्तिक महिनामा जिल्लाभर १७२ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १३ जनाको मृत्यु र २८० जना घाइते भएका छन् । ती दुर्घटनामा २५३ वटा सवारीसाधन संलग्न थिए ।
प्रहरीका अनुसार चालकको लापरवाहीका कारण १५१ वटा दुर्घटना भएका छन् । यस्तै, यात्रुका कारण १३, पशुचौपायाका कारण २, सडकको अवस्थाका कारण ३ र सवारीसाधनको अवस्थाका कारण १ वटा दुर्घटना भएको छ ।
विपद्बाट साढे ६ करोडभन्दा बढी क्षति
कात्तिक महिनामा विभिन्न विपद्का घटनामा परी ३ जनाको मृत्यु, ५ जना घाइते र १ जनाको उद्धार गरिएको छ । विपद्का कारण जिल्लामा ६ करोड ७३ लाख ७१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस अवधिमा सबैभन्दा बढी २६ वटा आगलागीका घटना भएका छन् । आगलागीमा २ जनाको मृत्यु, ३ जना घाइते र ६ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, जङ्गली जनावरको आक्रमणका ३ वटा घटना भएका थिए । जसमा १ जनाको मृत्यु, २ जना घाइते, १ जनाको उद्धार र १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्लामा अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । आत्महत्या न्यूनीकरण, लागूऔषध नियन्त्रण, बालविवाह रोकथाम र अपराधविरुद्ध जनचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ ।



