झापा, ७ मंसिर । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ‘सुरक्षित यात्रा अभियान’ सुरु गरिएको छ । ‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आइतबार विराटनगरमा आयोजित कार्यक्रमबीच अभियानको शुभारम्भ गरिएको हो ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रमको उद्घाटन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले गरे ।

कार्यक्रममा खनालले सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न प्रहरी, यातायात व्यवसायी, चालक, सहचालक, यात्रु तथा पैदलयात्री सबैको साझा प्रयास आवश्यक रहेको बताए ।
मादक तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु, तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा भार बोक्नु, चालक अनुमतिपत्र र सीपबिना सवारी चलाउनु, जथाभावी ओभरटेक गर्नु तथा लेन अनुशासन उल्लंघन गर्नुलगायतका कारण दुर्घटना बढिरहेको उनले बताए । सवारी साधनको नियमित जाँच, सडक तथा मौसमको अवस्थाको ख्याल र ट्राफिक नियमको पूर्ण पालना गर्न उनले सबैमा आग्रह गरे ।
कार्यक्रममा आफ्नो सिटी सफारीमा छुटेको पाँच लाख रुपैयाँ नगदसहितको झोला कुनै प्रलोभनमा नपरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा बुझाउने चालक जितबहादुर राईलाई सम्मान गरिएको थियो । २०८३ कात्तिक १६ गते भेटिएको उक्त रकम इमानदारीपूर्वक बुझाएको भन्दै सुरक्षित चालक नम्बर ३६६ का राईलाई डिआइजी खनालले सम्मान गरेका हुन् ।
सवारी आवागमनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान कोशी प्रदेशका १४ वटै जिल्लामा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
अभियानलाई प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरी कार्यालयले सडक सुरक्षासम्बन्धी जनचेतनामूलक टिकटक प्रतियोगितासमेत आयोजना गरेको छ । सडक सुरक्षा र दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देशमूलक भिडियो निर्माण गरी प्रतियोगितामा सहभागी हुन आम नागरिक, यातायात व्यवसायी तथा चालकलाई प्रहरीले आह्वान गरेको छ ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, यातायात व्यवसायी, सञ्चारकर्मी, चालक तथा प्रहरी कर्मचारीको उपस्थिति थियो ।



