झापा, ८ मंसिर । रेखा पौडेलको ह्याट्रिकसहितको उत्कृष्ट प्रदर्शनमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको दुधेमा मंगलबार भएको खेलमा बागमती युथ क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो । पुलिसका लागि कप्तान अमृता जैसी, रेखा पौडेल र सम्झना लावतीले गोल गरे । रेखाले तीन गोल गरिन् भने बाँकी एक गोल निर्मला विकको नाममा रह्यो।

खेलको प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेल घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् ।
जितसँगै पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ । प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनलमा झापा–११ र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

