झापा, ८ मंसिर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार करदातालाई सम्मान गरेको छ ।
सप्ताहव्यापी राष्ट्रिय कर दिवस, २०८३ को समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा झापा, इलाम, ताप्लेजुङ र पाँचथरका उत्कृष्ट करदातालाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सम्मानित हुनेमा झापाको एनएसबी ट्रेड एण्ड सप्लायर्स, इलामको अन्नपूर्ण ट्रेडर्स, ताप्लेजुङको आशिका आयल सप्लायर्स र पाँचथरको श्रेष्ठ ट्रेडिङ सप्लायर्स रहेका छन् । सोही अवसरमा कार्यालयका नायब सुब्बा टीकाराम दाहाललाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले इमानदारीपूर्वक कर तिर्नु असल नागरिकको पहिचान भएको बताए । कर तिर्नु राष्ट्रको समृद्धिमा योगदान पुर्याउनु भएको उल्लेख गर्दै उनले करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्नुपर्नेमा जोड दिए ।
उनले करसम्बन्धी न्यायिक प्रक्रिया छिटोछरितो र प्रभावकारी हुनुपर्ने बताउँदै सबै पक्षको साझा प्रयासबाट सुशासनयुक्त प्रशासन निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्नुपर्ने धारणा राखे ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाले कर राज्यले नागरिकबाट लिने अनिवार्य शुल्क मात्र नभई राज्य र नागरिकबीचको विश्वास, उत्तरदायित्व तथा विकास साझेदारीको महत्वपूर्ण आधार भएको बताए ।
नागरिकले आफूले तिरेको करको सही सदुपयोग भएको अनुभूति गर्न सके मात्र कर प्रणालीप्रति विश्वास बढ्ने र सुशासन कायम हुने उनको भनाइ थियो ।
उनले राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले उत्कृष्ट करदाता सम्मान, कर शिक्षा कार्यक्रम तथा अन्तरक्रियालगायत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।



