झापा, ८ मंसिर । ताप्लेजुङको ओलाङचुङगोला नजिक नेपाल–तिब्बत सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। उनले उक्त भूकम्पलाई मध्यमस्तरको भूकम्प भएको बताएका छन्।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी तथा मध्य तराईका विभिन्न जिल्लामा समेत महसुस गरिएको थियो।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले भूकम्पको धक्का जिल्लामा निकै जोडले महसुस भएको बताए। उनका अनुसार भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन। स्थानीय तहसँग समन्वय गरी क्षतिको विवरण संकलन भइरहेको छ।
भौगोलिक अवस्थाका कारण नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ। हिमालय क्षेत्रमा भौगर्भिक हलचलका कारण साना तथा मध्यमस्तरका भूकम्प जाने क्रम निरन्तर रहँदै आएको छ। भूकम्पविद्हरूले विशेषगरी पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले त्यस क्षेत्रमा जोखिमप्रति सचेत रहनुपर्ने बताउँदै आएका छन्।



